Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
युवा संघ र प्रसाई समुहलाई एकैठाउँ कार्यक्रम गर्न नदिने प्रशासनको तयारी

काठमाडौं । स्थानीय प्रशासनले युवा संघ र दुर्गा प्रसाईं समुहलाई एकै स्थानमा कार्यक्रम गर्न नदिने तयारी गरेको छ । यही मंसिर ७ का लागि माईतीघरमा तोकिएको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको हो । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको जानकारी दिए । 

उनका अनुसार वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

स्रोतका अनुसार, जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । त्यसक्रममा कार्यक्रमका लागि वैकल्पिक स्थान रोज्न निर्देशन दिने प्रशासनको तयारी छ ।

युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन । यद्यपि, छलफलका लागि दुवै पक्षलाई प्रशासनले बोलाइसकेको छ ।

स्रोतका अनुसार, युवा संघ र दुर्गा प्रसाईं पक्ष आमनेसामने हुँदा सिर्जना हुनसक्ने सम्भावित परिस्थितिबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update