काठमाडौं । नेपालले सीमासम्बन्धी समस्याको प्राविधिक विषयहरु समाधान गर्न भारतलाई पत्राचार गरेको छ । बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी) को बैठक राखेर सीमा लगायतका समस्या समाधान गर्न भारत सरकारसमक्ष प्रस्ताव गरिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार बीडब्लुजीको बैठक यथासिघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको छ । तर, नेपालको तर्फबाट गरिएको प्रस्तावित मिति र भारतीय जवाफबारे परराष्ट्र मन्त्रालयले केही खुलाएको छैन ।
संघीय संसदको दोस्रो अधिवेशनमा कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा समस्या समाधानका निमित्त सरकारको तर्फबाट भइरहेको कूटनीतिक प्रयासको प्रगति माग भएको थियो ।
जवाफमा परराष्ट्र मन्त्रालयले ‘सीमा सम्बन्धी नसुल्झिएका विषयहरुलाई सुल्झ्याउनको लागि कूटनीतिक स्तरमा वार्ता गर्न नेपालको तर्फबाट भारत सरकार समक्ष निरन्तर प्रयास हुँदै आएको’ बताएको हो ।
यही जवाफमा परराष्ट्र मन्त्रालयले बीडब्लुजीको बैठक बोलाउन प्रस्ताव गरी पत्राचार गरिएको जानकारी दिएको हो । नेपाल र भारतको सीमा सम्बन्धी बीडब्लुजीको पछिल्लो बैठक भारतको देहरादुनमा सन २०१९ अगष्ट २८ देखि ३० तारिखसम्म बसेको थियो । त्यसपछि अर्को बैठक राख्ने प्रयास नेपालको तर्फबाट निरन्तर भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।