काठमाडौं । मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।
मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो ।
नेपालले यसअघि यसै महिना घरेलु मैदानमै भएको त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । त्यसबेला नेपालले १६५ रनको लक्ष्य पूरा गरेको थियो ।
नेपालको जितमा कुशल मल्ले ६५ रन बनाए । उनले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे । कुशलले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ६७ रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । भुर्तेलले पहिलो विकेटका लागि आसिफ सेखसँग ४९ रनको साझेदारी गरेका थिए । आसिफले ३२ रन थपे । सन्दीप जोरा १८ र विवेक यादव दुई रनमा अविजित रहे ।
मलेसियाका मुहम्मद अमिरले तीन विकेट लिए । पवनदीप सिंहले एक विकेट हात पारे ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो । मलेसियाका ओपनर अजिजले ४९ बलमा आठ चौका र दुई छक्कासहित ६८ रन बनाए । अजिजले पहिलो विकेटका लागि ५।५ ओभरमा जुबाइदी जुल्किफ्लीसँग ५८ रनको साझेदारी गर्दै मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
जुल्किफ्लीले २४ रन थपे । तर, यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा मलेसिया ठूलो योगफलसम्म पुग्न सकेन । सर्विन मुनियन्दीले १३ र विजय उन्नीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अभिनाश बोहराले चार विकेट लिए । चार ओभर बलिङ गरेका अभिनाशले २७ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । लगातार दोस्रो हार बेहोरेको मलेसिया भने प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ ।