काठमाण्डौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेसले विश्वभर शान्ति स्थापना गर्न आव्हान गरेका छन् । गौतमबुद्ध जन्मस्थल लुम्बिनी पुगेर उनले यस्तो आव्हान गरेका हुन् । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गरे ।
पोखराबाट अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल हुँदै ११ः३५ बजे लुम्बिनी पुगेका हुन् । गुटेरेसले लुम्बिनीमा झन्डै २ घन्टा बिताएका छन् । बिहान साढे ९ बजे लुम्बिनी आउने कार्यक्रम तय भए पनि अन्नपूर्ण बेस क्याम्पमै ढिलाइ भएपछि महासचिवले पोखरामै खाना खाएर निर्धारित समय भन्दा २ घन्टा ढिलो लुम्बिनी पुगेका हुन् ।
लुम्बिनीको अशोक स्तम्भ परिषरबाट उनले मिडियामार्फत लुम्बिनीको विषयमा सम्बोधन गर्दै विश्वभर शान्ति कायम गर्नुपर्नेमा जोड दिएका हुन् । गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन् । यसअघि राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हृयामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डी कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । गुटेरेस सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपाल भ्रमणमा पहिलोपटक आएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले १५ वर्षपछि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमण लुम्बिनी क्षेत्रकै पहिचान र महत्त्वका लागि गौरवको विषय भएको बताए । महासचिव गुटेरेसले लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्दै दर्शन र प्रार्थना गरेका छन् ।