काठमाडौं । रानीमहल नजिकै भएको जीप दुर्घटनाका सबै मृतकको सनाखत गरिएको छ । आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुने ६ जनाको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ ।
घटनामा परी गम्भीर घाइते चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।
घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।
रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल खोचमा खसेको छ । दुर्घटना कारण भने खुलेको छैन ।