Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पत्रकार महासंघ दोलखाको सदस्यता शुद्धिकरणबारे उठ्यो प्रश्न, कार्यालयमा तालाबन्दी

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका सदस्यहरुको शुद्धिकरणबारे प्रश्न उठेको छ । पुराना सदस्यहरुको शुद्धिकरण र नयाँ सदस्यता प्रदानको विषयमा महासंघको केन्द्रीय समितिले गरेको निर्णयमाथि प्रश्न उठेको हो । महासंघ आफैले बनाएको मापदण्ड बिपरित सदस्यता शुद्धिकरण र नयाँ सदस्यता प्रदान गरिएको भन्दै प्रेस चौतारी दोलखाले महासंघको कार्यालयमा तालाबन्दी गरेको छ ।

सदरमुकाम चरिकोट स्थित महासंघको कार्यालयमा तालाबन्दी गर्दै चौतारीले गलत निर्णय सच्याउन चेतावनी दिएको छ । पत्रकार महासंघ केन्द्रीय समितिद्धारा गठित  शुद्धीकरण समितिले गएको असोज २६ गते सदस्यता शुद्धिकरणको नामावली सार्वजनिक गरेको थियो । प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले शुद्धिकरणको नाममा महासंघलाई गैर पत्रकारहरुको संस्था बनाउन खोजिएकोले तालाबन्दी गर्न बाध्य बनाईएको बताए ।

जिल्ला शाखाबाट बिना प्रमाण नविकरण भएका र शुद्धीकरण मापदण्ड विपरित सिफारिस गरिएका नयाँ सदस्यको बारेमा उजुरी गर्दा समेत त्यसको सुनुवाई नगरी उल्टै मापदण्डले सदस्य स्वीकार गरेका क्रियाशील पत्रकारहरुको नाम हटाएको भन्दै चौतारीले आपत्ती जनाएको हो । 

प्रेस चौतारीसँग नजिक भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने,  मापदण्डभित्र परेका सदस्यको सदस्यता नवीकरण नगर्ने, नेपाल सरकारको वेतनधारी स्थायी शिक्षकको हकमा व्यक्तिपिच्छे फरक फरक व्यवहार गर्ने, मापदण्ड विपरित हुने एउटै प्रकृतिका कोहि व्यक्ति महासङ्घको सदस्य रहने र कोहि नरहने गरी महासङ्घको जिल्ला र प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा मनोमानी रुपमा नयाँ सदस्यता प्रदान गरिएको चौतारीले निकालेको विज्ञप्तीमा उल्ले छ । 

नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिले  सिफारिस गरेर केन्द्रीय समितिले सार्वजनिक गरेका पत्रकार महासङ्घको नामावलीको सम्बन्धमा १५ बुँदै मापदण्ड हुबहु पालना नभएसम्म ताला नखुल्ने प्रेस चौतारीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update