Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाबाट ३९ किलो सुन तस्करी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । चीनसँग सिमाना जोडिएको दोलखाको नाका भएर गत १० महिनामा ३९ किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जिल्लाको बिगु गाउँपालिका–१ बाट बरामद भएको ११ किलो सुनको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय दोलखाले संयुक्त अनुसन्धानका क्रममा ११ किलो सुन तस्करी गर्ने समूहले गत मंसिरयता ३९ किलो सुन तस्करी गरिसकेको देखिएको छ । प्रहरीले संगठित अपराध कसुरअन्तर्गत सुन तस्करीको अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परिसकेका छन् । 

सुन तस्करी गर्न तिब्बती समूह सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार उनीहरूले तिब्बतबाट काठमाडौंसम्म ल्याएर सुन बेच्ने गरेका छन् । 

हालसम्मको अनुसन्धानमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५, बस्ने गरेका आगर लामालाई सुन तस्करीको मुख्य अभियुक्तको रुपमा देखिएका छन् । सिआइबीको टोलीले बुधबार उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि उनलाई दोलखा पठाइएको छ।

यस्तै अर्का चिनियाँ ग्याङ रू, बिगुकै ५५ वर्षीय नुर्वु छिरिङ शेर्पाको पनि प्रमुख भूमिका देखिएको छ। उनीहरूकै लगानी समेत भएको प्रहरी अधिकारीहरू बताउँछन्। 

चीन तर्फबाट आगर लामाका आफन्तहरूले सिमा क्षेत्रको खोला किनारसम्म सुन ल्याउने र त्यहाँबाट नुर्वु छिरिङले पनि भरियाहरू खटाएर सुन ल्याउने गरेको प्रहरी स्रोतको भनाई छ । 

सिमा क्षेत्रसम्म, सीमानादेखि चरिकोटसम्म, चरिकोटबाट काठमाडौं, काठमाडौंमा मेन मान्छेसम्‍म र त्यसपछि बजारसम्म लग्ने अर्को लेयर बनाएर तस्करी हुने गरेको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार सुन काठमाडौंसम्म आलुको बोरामा बसको सिटमुनि राखेर ल्याउने गरिएको थियो। पछिल्लो पटक खोला किनारमा ११ किलो सुन लिन बिगु–१का १९ वर्षीय पेम्बा तामाङ गएका थिए।

उनले सुन लिएसँगै आलुको बोरामा बोकेर चरिकोट लग्दै थिए। तर उनले सुन आलुको बोरामा ल्याउँदै गरेको भन्ने सूचना गाउँमा थाहा भयो। 

कसैले उक्त सूचना २८ वर्षीय केशर तामाङ र उनको समूहले पाएको थियो। केशर र पेम्‍बा एकै गाउँका हुन्।सुन ल्याउँदै गरेको थाहा पाएर केशर लगायतले पेम्बालाई फकाएर चिया खुवाउने भन्दै लगेका थिए। 

‘उनीहरूले पेम्बालाई फकाइफुल्याई गर्न थाले। चिया खान जाउँ भनेर। फकाएर चिया खुवाउन लग्दा अर्कैले आलुको बोरा टिपेर लगिसकेका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘चिया खाएर फर्किँदासम्म आलुको बोरा हराइसकेको थियो। त्यसपछि उनले नुर्वुलाई भनेका थिए।’

सुन लुटिएको भन्ने जानकारी पाएपछि गाउँमा हल्लाखल्ला भएको थियो। यता लुट्ने समूहले पनि सुन भागबन्डा समेत लगाइसकेका थिए। अहिले लुट्ने समूहका दुई जना अझै फरार छन्। 

गाउँमा हल्लाखल्ला भएपछि प्रहरीले असोज १० गते चार किलो सुन बरामद गरेको हो।

सुन बरामद भएसँगै प्रहरीले पेम्बा तामाङ, केशर तामाङ, २० वर्षीय माधव मगर, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।

पेम्बा तामाङजस्ता भरियाले एक किलो सुन बोकेबापत् ६ हजार पाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यतिबेला ११ किलो सुन बोकेबापत् उनले ६६ हजार पाएका थिए।

गत मंगलबार काठमाडौंबाट चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई पक्राउ गरेको थियो। 

उनीहरूले आलुको बोरामा सुन राखेर ल्याई सुन व्यावसायीहरूलाई बेचे पनि किन्ने व्यापारीहरू भने पक्राउ परिसकेका छैनन्। 

पछिल्लो पटक ब्रेक शुमार्फत भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणसँग सम्बन्धित नभएको पनि सिआइबीले जनाएको छ। यद्यपि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update