चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुषले आफ्नै बुबा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट बुबा र बुहारी दुबै जना गम्भिर घाईते भएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर २ का पञ्च वहादुर तामाङले ७५ वर्षीय बुबा रामवहादुर तामाङ र भाईबुहारी २७ वर्षीया जेनिसा तामाङलाई खुकुरी प्रहार गरेका हुन् ।
स्थानीयका अनुसार घरायसी विवादमा बिहिवार बेलुकी उनले पहिले बुबा रामवहादुरलाई खुकुरी प्रहार गरेका थिए । त्यसपछि खुकुरी प्रहार रोक्न गएकी बुहारीमाथि पनि पञ्चबहादुरले खुकुरी प्रहार गरे । उनी मदिरा सेवन गरी घर गएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खुकुरी प्रहारवाट रामवहादुरको टाउकोमा गहिरो चोट लागेकाले अबस्था गम्भिर छ । जेनिशाको पनि टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते दुबै जनाको काठमाण्डौंको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आफ्नै बुबा र बुहारीलाई खुकुरी प्रहार गर्ने पञ्चवहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई पनि खुकुरीले झटारो हानेका थिए । खुकुरीको झटारो लागेर एक प्रहरी जवान समेत घाईते भएका छन् ।
घाईते हुनेमा इलाका प्रहरी कार्यालय मागापौवाका प्रहरी जवान भुपनारायण श्रेष्ठ रहेका छन् । तामाङलाई नियन्त्रण लिएर थप अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।