Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेलाई बनाउने निर्णय बिरुद्ध सर्वोच्चमा मुद्धा

चरिकोट । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने निर्णय बिरुद्ध अदालतमा रिट दायर भएको छ । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने कुभिण्डेमा तोक्ने निर्णय बिरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट दायर भएको हो ।

गत साउन २२ गते बसेको गाउँसभाले गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डे तोक्ने निर्णय गरेको थियो । वडा नम्बर ५ का स्थानीयका तर्फबाट दायर गरिएको रिट निवेदनमा उक्त निर्णय प्रचलित कानुन बिपरित रहेको भन्दै बदर गर्न माग गरिएको छ । 

रिटमा कालिञ्चोक गाउँपालिका, वाग्मती प्रदेश सरकार, संघीय सरकारलाई बिपक्षी बनाईएको छ । ‘केन्द्र तोक्ने निर्णय नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको बिपरित भएकोले उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाउँ, रिट निवेदनमा माग गरिएको छ । 

साथै रिटमा २०७५ साल असार १० गते वडा नम्बर ५ को बन्देथलीमा केन्द्र तोक्ने गरी गरेको निर्णय बमोजिम विपक्षीहरुको नाममा परमादेशको समेत माग गरिएको छ । 

गाउँपालिकाको स्थायी केन्द्र बन्देथलीमा तोक्ने निर्णय भैसकेको, उक्त स्थानमा स्थायी केन्द्र प्रयोजनका लागि स्थानीयबाट जग्गा प्राप्ति भैसकेको, हाल निर्धारण गरिएको स्थायी केन्द्र सम्बन्धी निर्णय प्रक्रियामा अध्यक्षले कानुनी व्यवस्था बिपरित निर्णायक मतको दुरुपयोग गरेको, हालको निर्णय कार्यान्वयन भएमा अधिकांस जनसंख्यालाई अपायक पर्ने लगायतका विषय रिट निवेदनमा उल्लेख छ । सर्वोच्च अदालतले रिट निबेदनबारे बिपक्षीलाई बिहिवार पेशी तारेखमा बोलाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update