चरिकोट । नेकपा एमाले वागमती प्रदेश कमिटीको पदाधिकारीका लागि दोलखाका दुई जना नेता चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश उपाध्यक्षका लागि ईश्वरचन्द्र पोखरेल र उपसचिवका लागि डबल पाण्डेले उम्मेदवारी दर्ता गरेर चुनावी प्रधिस्पर्धामा छन् । उपाध्यक्षका दाबेदार पोखरेल एमाले दोलखाका पुर्व अध्यक्ष हुन् ।
उनले तामाकोशी गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै एमाले जिल्ला उपसचिव भैसकेका पाण्डे जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख हुन् । जिल्लाको पुराना नेताका रुपमा स्थापित दुबै नेता हाल वाग्मती प्रदेश कमिटीको सदस्य छन् ।
सहमतिका लागि नेताहरुले गरेको प्रयास सफल हुन नसकेपछि नयाँ पदाधिकारीको लागि सबै पदमा निर्वाचन हुने करिब निश्चित भैसकेको छ । पार्टीले घोषितरुपमा प्यानल नबनाउन निर्देशन दिएपनि जित्न र ब्लक मत तान्नका लागि प्रभावशाली नेताहरूको पहलमा प्यानल बनिरहेको छ । आजै नेतृत्वको लागि मतदान हुनुअघि लिस्ट बनाएर मतदातालाई बाँड्न लागिएको छ ।
अध्यक्षका प्रत्यासी कैलाश ढुंगेलको प्यानलबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा,सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डितलाई अघि सार्न खोजिएको छ । त्यस्तै कृष्ण दाहालको प्यानलबाट उपाध्यक्षमा नुवाकोटका पूर्व सांसद नारायण खतिवडा र सचिवमा ललितपुरका पूर्व सांसद नवराज सिलवाललाई व्यवस्थापन गर्न खोजिएको स्रोतले जनाएको छ ।
यद्यपि ईश्वरचन्द्र पोखरेललाई ढुंगेल प्यानलको उपाध्यक्ष उम्मेदवार बनाउन आनन्द पोखरेलले प्रयास गरिरहेका छन् । नारायण खतिवडा वा पोखरेलमध्ये एकजनालाई दाहाल प्यानलबाट पनि व्यवस्थापन गर्ने प्रयास छ ।
सचिवमा धादिङका डा. रामकुमार अधिकारी र काठमाडौंकी रत्न गुरुङ पनि उम्मेदवार छन् । त्यस्तै उपाध्यक्षमा मकवानपुरका सुभासचन्द्र ठकुरी र भक्तपुरका राजेन्द्र राजथला पनि उम्मेदवार छन् ।
त्यस्तै डबल पाण्डेलाई उपसचिव बनाउन पोलिट व्युरो सदस्य पार्वत गुरुङ लगायतका नेताहरुको जोड रहेको बुझिएको छ । उपसचिवमा रित ढकाल गौतमलाई दुवै प्यानलको साझा उम्मेदवार बनाउन गोकुल बास्कोटाले पहल गरेका छन् । पूर्व माओवादी धारबाट उनलाई सर्वसम्मत बनाउने प्रयास भने सफल भएको छैन ।
उपसचिवमा खड्ग खत्री,रिता ढकाल गौतम, राजेन्द्र श्रेष्ठ, प्रेम महर्जन, रमेश महर्जन, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुर गजुरेल, कृष्णहरी थापा उम्मेदवार छन् । महिला र खुला २ उपसचिवमा दुवै पक्षले आधिकारिक उम्मेदवार तय गरिसकेका छैनन् ।
प्रदेश कमिटी सदस्यहरूमा आ आफ्नो जिल्लाको कोटाबाट सर्वसम्मत चयन गर्ने प्रयास पनि सफल भएको छैन । दाबेदारहरू धेरै भएकाले निर्वाचन नै हुने अवस्था आएको नेताहरूको भनाइ छ ।