Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा ठुलो परिमाणमा अबैध सुन बरामद, केही व्यक्ति पक्राउ
सांकेतिक तस्बिर

चरिकोट । चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट अबैध सुन तस्करी हुने गरेको पाईएको छ ।जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिंगटीबाट अबैध सुन बरामद भएको हो । उक्त सुन विगु गाउँपालिका वडा नम्बर १ लामावगर सिमा क्षेत्रबाट भित्रिएको आशंका गरिएको छ । ईलाका प्रहरी कार्यालय सिंगटीले पहेँलो धातु सहित केही व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेको छ । 

सुनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको पहिचान खुलाईसकेको छैन । केही व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । चार वटा बिस्किट आकारको सुन बरामद भएपनि परिणाम एकिन हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले अबैध सुन बरामद गरेको हो ।

प्रहरीले बरामद सुनको रातीनै मुचुल्का उठाईसकेको छ । पैदलमार्ग मार्फत सुन भित्रिएको र थप अबैध सुन आएको हुनसक्ने आशंकामा निगरानी र खोजी कार्य तिब्र बनाएको छ । जिल्लामा चीनको चिब्बती नाका खुलेको एकसाता नबित्दै अबैध सुन बरामद भएको हो ।

दोलखाको लामाबगर र तिब्बतको सिमा क्षेत्रबाट सुन बरामद भएको सम्भवतः पहिलो पटक हो । घट्नाबारे बिस्तृत बिवरण आउन बाँकी छ । प्रहरीले केही समयपछि बिस्तृत बिवरण सार्वजनिक हुने जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update