काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । योसँगै प्रतिव्यक्ति ऋणको भार ७९ हजार २०१ पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको छ । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भुक्तानी गरेको तथ्यांक छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
नेपालको आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋणको आंकडा २३ खर्ब माथि पुगेको तथ्यांकमा उल्लेख छ ।
भदौ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग गर्दा सो रकम आएको हो ।