काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । अधिवेशनको तेस्रो दिन बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता हुने छ । मतदान बिहीबार बिहानलाई निर्धारण गरिएको छ ।
मंगलबारको बन्दसत्र प्रज्ञा भवनमा भएको थियो। नेताहरुका अनुसार निर्वाचन कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, ललितपुर, च्यासलमा हुनेछ । बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। दाबी विरोधपछि बिहान ९ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ११ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्टयाइएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
अपराह्न ४ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र दाबी विरोधसहित साँझ ५ बजे अन्तिम सूची निकाल्ने तयारी छ । एमाले वाग्मती प्रदेशको प्रथम अधिवेशन असोज ८ गतेबाट सुरू भएको हो ।
अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकांक्षी मैदानमा देखिएका छन्। नेतृत्व चयनमा सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको एक नेताले बताए।
प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्।
निवर्तमान अध्यक्ष केशव पाण्डे पनि नेतृत्वको आकांक्षी हुन्। पार्टीको एउटा पंक्ति उनको नाममा सर्वसम्मतिको प्रयास पनि गरिरहेको छ।
तर, केही जिल्ला अध्यक्षबाहेक उनको पक्षमा नदेखिएकाले उनको नाममा सर्वसम्मतिको सम्भावना नरहेको एक नेताले बताए।
स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलगायत केही नेताको चाहना सानुकुमार श्रेष्ठ पनि देखिएको छ। अघिल्लो कार्यकालमा बागमती प्रदेशको सभामुख रहेका उनी पार्टीको केन्द्रीय कमिटीमा छैनन्।
तर, चुनावै हुँदा कैलाश ढुंगेल र कृष्ण दाहालका बीचमा प्रतिस्पर्धा हुने नेताहरुको भनाई छ । एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।
अधिवेशनले ५० प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित २४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ।