Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मान्छेमाथि आक्रमण गर्न थालेपछि दोलखामा राँगोलाई गोली हानी मारियो

चरिकोट । मानिसहरुमाथि आक्रमण गर्न थालेपछि दोलखामा एउटा राँगोलाई गोली हानेर मारिएको छ । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको हो । 

स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगोले फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरी घाईते बनाएको थियो । घाइते उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो ।

त्यसपछि स्थानीयले राँगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर राँगोले अरू व्यक्तिमाथि समेत आक्रमण गरेपछि नियन्त्रणको प्रयास असफल भएको थियो । सो जानकारी पछि स्थानीय प्रहरी चौकीबाट प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।

तर प्रहरी चौकीको सो टोली र स्थानीयले समेत राँगो नियन्त्रणमा लिन नसक्ने देखिएपछि जिल्ला प्रहरी कार्यालय दोलखामा खबर गरियो ।

त्यसपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दा राँगो नियन्त्रणमा लिने व्यवस्था मिलाउन आदेश पायो । स्थानीय प्रशासनको निर्देशनपछि प्रहरीले रागोलाई गोली प्रहार गरेको थियो । उक्त राँगो नियन्त्रणमा लिनका लागि गएको टोलीले बोकेको ३०३ राइफलबाट एक राउन्ड गोली ‘फायर’ गरियो । गोली प्रहार गरी राँगोलाई मारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update