काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सोमवारदेखि सुरु हुँदैछ । काठमाण्डौंमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि काठमाडौं आईसकेका छन् ।
एमालेले प्रतिनिधि छनोटका लागि १२५ सदस्य बराबर एक प्रतिनिधि चयनको मापदण्ड तय गरेको थियो । अधिवेशनमा रजनीतिक तथा सांगठनिक प्रतिवेदनमा छलफल हुनुका साथै प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ ।
को बन्ला अध्यक्ष ?
वाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि नेताहरुले सहमतिको गृहकार्य जारी राखेपनि निष्कर्ष निस्किएको छैन । केन्द्रीय नेतृत्वको समेत सहमतिमा जोड भएपनि आकांक्षीहरुले दाबी छाडेका छैनन् । पदाधिकारीमध्ये अध्यक्षका लागि बलियो दाबी देखिएको छ । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशव पाण्डे लगायत अध्यक्षको प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य बाहेकलाई अध्यक्ष बनाउने विकल्पमा सहमतिको अधिकतम प्रयास भैरहेको नेताहरुले जानकारी दिएका छन् ।
मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आए आकांक्षी नेताहरुमध्ये कैलाश ढुंगेल, केशव राज पाण्डे र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । प्रतिनिधि चयनमा देखिएको जोडघटाउको कसरत हेर्दा सर्वसहमतिबाट नेतृत्व टुंगिने सम्भावना कम रहेको एक नेताले बताए ।
केन्द्रीय सदस्यमध्येबाट नेतृत्व चयन हुँदा रचना खड्कापनि अध्यक्षका आकांक्षी छन् । उनी विद्यार्थी राजनीतिबाट नवौं महाधिवेशनमै केन्द्रीय सदस्य बनेकी थिईन् । आफूले प्रदेशको नेतृत्व पाउँदा देशभर राम्रो सन्देश समेत जाने उनको भनाई छ ।
मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आउन सक्ने आँकलन गरेरै सोही अनुसारको तयारी गरिएको छ । प्रदेश अधिवेशनको बन्दसत्रको तालिका सार्वजनिक भैसकेको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन नभए इलेक्ट्रोनिकल भोटिङ मेसिन (राम–लक्ष्मण) को माध्यमबाट मतदान गर्ने तयारी छ ।