काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा दलहरुबीच बिवाद देखिएको छ । प्रमुख तीन राजनीतिक पार्टीका नेताहरुबीच आईतवार भएको छलफलमा आयोगको क्षेत्राधिकारका विषयमा विवाद देखिएको हो ।
आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको थियो ।एक महिनाअघि आयोग गठन गर्ने सहमति भएपनि क्षेत्राधिकारका विषयमा भने मतभेद हुँदा गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन ।
गत भदौ ६ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका बीचमा सुन तस्करीबारे छानबिन गर्न जाँजबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो। यद्यपी क्षेत्राधिकारका विषयमा बिवाद देखिएपछि आयोग गठन प्रक्रिया लम्बिने संकेत देखिएको छ ।