Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मापदण्ड बिपरित विशिष्ट व्यक्तिलाई दिईएको सुविधा फिर्ता गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न निर्देशन दिएको छ । समितिले सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । 

समितिको बिहीबारको बैठकले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र जानकारी गराउन भनेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न पनि समितिले निर्देशन दिएको छ । 

समितिका सभापति रामहरि खतिवडाले मापदण्डविपरीत उपलब्ध गराइएका सुविधा फिर्ता गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिए । नेपाल सरकारका मन्त्रीहरूलगायत सम्पूर्ण पदाधिकारीहरुले नियमानुसारभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको छ भने त्यो पनि नियमभन्दा बाहिर सम्पूर्ण फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारी नभएकाले सो निर्णय पनि कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update