काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले दोस्रो दिन पनि सडक आन्दोलन जारी राखेका छन् । काठमाडौं केन्द्रीत आन्दोलनका कारण देशभरिका सामुदायिक विद्यालय बन्द छ ।
शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्। सरकारले शिक्षकहरूसँग पहिलो चरणको वार्ता समेत गरेको छ। बिहीबार बिहान गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरूले वार्ता गरेका थिए। तर छलफल निष्कर्षबिहीन सकिएको थियो।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।
आन्दोलनमा ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ। शिक्षकहरूले अनिश्चितकालिन आन्दोलन गरेका हुन्।