लामो समयको वलिदान, संघर्ष र आन्दोलनको परिणाम स्वरुप संविधानमै पुर्ण प्रेस स्वतन्त्रता संस्थागत भएको छ । नेपाल पत्रकार महासंघ श्रमजीवि पत्रकारहरुको पेशागत हकहित, अधिकार र भौतिक सुरक्षाको निम्ति जस्तोसुकै मुल्य चुकाउन तयार रहँदै आएको कुरा सर्बविदितै छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको व्यवहारिक अभ्यासका लागि निरन्तर खवरदारी गर्नुपर्ने अभियान आजपर्यन्त जारी छ । महासंघ आफ्नो भौतिक पूर्वाधारका साथै संस्थागत र पत्रकारहरुको वृत्ति विकासका लागि सबैखाले पहल र प्रयत्नमा सँदैब प्रतिवद्ध भएर लागिपरेकै छ ।
नेपालमा लामो समयदेखि गम्भिर बहस हुँदै आएको पत्रकार शुद्धिकरणको मुद्धाले भने अझै ठोस आकार ग्रहण गर्न सकेको छैन । महासंघले आफ्नो आन्तरिक संस्थागत जिवनमा यस विषयलाई अहिले कार्यान्वयन गरेर एउटा निष्कर्षमा पुर्याउने प्रयास गरिरहेको छ ।
महासंघलाई वास्तविक रुपमा श्रमजीवि पत्रकारहरुको साझा र व्यवसायिक संगठनको रुपमा स्थापित गर्नुपर्ने आम बुझाई र दृष्टिकोण छ । सिद्धान्ततः पत्रकारहरुको शुद्धिकरण गर्ने सन्दर्भमा सायदै विमती होला । राज्यको चौथो अगंका रुपमा रहेको प्रेस जगत तथा श्रमजीवि पत्रकारहरुको नेतृत्व गर्ने पत्रकार महासंघको साख र गरिमा उँचो राख्दै पत्रकारिता क्षेत्रलाई उत्तरदायी, जवाफदेही र मर्यादित बनाउन सुदृढिकरणसँगै शुद्धिकरण अहिलेको टड्कारो आवश्यकता रहेको कुरा सर्बत्र महसुस भएको छ । राज्य र समाजका सबै अंगप्रत्यंगहरुलाई शुद्ध बनाउने लक्ष्य लिएको पत्रकारिता क्षेत्रको शुद्धिकरण आफैमा नैतिक प्रश्न हो । यद्यपी यसको कार्यान्वयन पक्ष भने निकै सम्वेदनशील, पेचिलो र चुनौतीको विषय बनेको छ ।
यस्तो पृष्ठभूमिकाबीच वस्तुगत रुपमा उठेका प्रश्नको सम्वोधन र आत्मागत रुपमा स्वनियमनको अभ्यासलाई मुर्तरुप दिन पत्रकार महासंघले सदस्यता शुद्धिकरण प्रक्रिया अघि बढाएको हो । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी, राजनीतिक दलका पदाधिकारी, लामो समयदेखि विदेश वा निष्क्रिय रहेकाहरुको सदस्यता शुद्धिकरण गर्ने भनिएको छ । सदस्यद्धता शुद्धिकरणको अभियान सुरु हुँदै गर्दा अतिरञ्जित ढंगले केही भ्रमपूर्ण प्रोपोगाण्डा भएकी भन्ने अनुभुति भएको छ ।
उदाहरणको रुपमा महासंघ दोलखा जिल्ला शाखाले शुद्धिकरणबारे गरेको निर्णयलाई लिएर बढाईचढाई गरेर गरिएको प्रचार र बक्तव्यबाजीलाई लिन सकिन्छ । शुद्धिकरण प्रक्रियालाई थप पारदर्शी र बस्तुनिष्ठ बनाउन महासंघ शाखाका पुर्व सभापति तथा केन्द्रिय सदस्य चिरञ्जीबि मास्के नेतृत्वमा जिल्लाका अग्रज पत्रकारहरु राजेन्द्र मानन्धर, लक्ष्मण खड्का, शम्भु गौतम र रमेश खतिवडा सदस्य रहेको शुद्धिकरण सुझाव कार्यदल बनाईएको थियो । केन्द्रको सर्कुलरको मर्म, कार्यदलको सिफारिस र सुझावलाई आधार मानेर, कार्यदलका सदस्यहरुलाई पनि साक्षी राखेर शाखाको यही जेठ २ गतेको बैठकले शुद्धिकरणबारे निर्णय लिएको हो ।
शुद्धिकरण गर्ने भनिएका सदस्यहरुको गुनासो र प्रश्नलाई सुनुवाई गर्न सकिने विकल्प समेत खुल्ला राखेर विधान बमोजिम शुद्धिकरण प्रक्रिया अघि बढाउने र सोही अनुसार महासंघ प्रदेश र केन्द्रलाई पनि औपचारिक जानकारी गराउने निर्णय गरिएको थियो । जिल्ला बाहिर सक्रिय सदस्यहरुको सन्दर्भमा शुद्धिकरण भन्दा स्थानान्तरणको विषय उठेको हो । कर्मथलो रहेको जिल्लामै सदस्यता स्थानान्तरण गर्दा उपयुक्त हुन्छ भन्ने शुद्धिकरण समिति र कार्यसमितिको निष्कर्ष रह्यो ।
कतिपय सक्रिय सदस्यहरुमाथि अन्याय भएको, निर्णय गलत समयमा भएको र मापदण्ड सबैको हकमा समान रुपमा लागु नभएको जस्ता गुनासोहरु आएका छन् । निर्णयमा केही प्राविधिक कमजोरी अवश्य भयो, तर शुद्धिकरणको मुल उदेश्य र स्प्रीड सही थियो ।
पेशामा सक्रिय रहेकाहरुलाई सदस्यताबाट बञ्चित गर्ने विषय कार्यसमितिको क्षेत्राधिकार बाहिरको कुरा हो । श्रमजीवि पत्रकारहरुको हकहित र अधिकारको वकालत र रक्षा गर्ने नेतृत्वदायी संस्था र त्यसका पदाधिकारीहरुले त्यस्तो कुराको कल्पना गर्ने कुरै भएन । मुलतः निर्णयमा दुरासय, आग्रह, पुर्वाग्रह, प्रतिशोध र विभेदको कुनै गुञ्जायस विल्कुल थिएन, छैन भन्ने लाग्छ । महासंघका लागि सदस्यज्यूहरुले पुर्याएको योगदान समेत बिर्सेर उल्टै अपमान र मानमर्दन गर्ने कुरा कसरी सोच्न सकियो होला र ? त्यस्तो हुनै सक्दैन । कसैले त्यस्तो नियत राखेर निर्णयलाई प्रभावित गर्ने प्रयास गरेको थियो भने त्यो खेदजनक छ ।
तर निर्णयको सारभुत विषय नजरअन्दाज गरेर यतिविधि सार्वजानिक विरोध गरियो की ! मानौं महासंघले कुनै ठुलो अपराध गरेको छ । आकास खस्न र धर्ती फाट्न लागेको छ । सतही बुझाईकै भरमा महासंघका पदाधिकारीमाथि अत्यन्तै अशिष्ट÷छुद्र शब्दवाणद्धारा विषवमन र आक्रमण गरिएको छ । सदस्यता स्वतःस्फुर्त रुपमा त्याग गर्न चाहनेहरुको नाम समेत भजाएर शुद्धिकरणको मुल मर्ममाथि नै प्रहार गर्ने प्रयास भएको छ । प्रेस संगठन र युनियनका प्रदेश तथा केन्द्रले समेत बक्तव्यवाजी गर्न भ्याउनुले कान छाम्नुभन्दा कागको पछाडी दौडिनेतिर साथीहरु लागेको स्पष्ट देख्न सकिन्छ ।
भनिन्छ, भगवानको त गल्ती हुन्छ । निर्णयमा त्रुटि, कमीकमजोरी भए सच्याउन आन्तरिक छलफल, बहस गर्नसक्ने उपाय विकल्प छँदै थिए । सार्बजानिक बिरोधमा उत्रिनु अघि स्वस्थ र मैत्रीपुर्ण आलोचना सहित आन्तरिक रुपमा समस्याको हल खोज्ने विधि अबलम्बन गरिएको भए उत्तम हुन्थ्यो । निर्णय अकाट्य र अपरिवर्तनीय थिएन ।
तर उक्त विषयलाई हठात प्रतिष्ठा, प्रोपोगाण्डा र सार्वजानिक खपतको विषय बनाएर अनावश्यक बिवाद सिर्जना गरियो । त्यसबाट साथीहरुलाई त सन्तुष्टि मिल्यो होला तर सन्देश पक्कै राम्रो गएको छैन । सकेसम्म राम्रो गरौं भन्ने वर्तमान कार्यसमितिको पवित्र ध्येयमाथि केही शंका र भ्रम पैदा गर्न खोजिएको छ । निर्णयबारे गलत बुझार्ईले पनि घर गरेको देखिन्छ । प्रायोजित सार्वजानिक बिवादले अन्ततगोत्वा महासंघ नै कमजोर हुने हो । यसतर्फ महासंघ कार्यसमिति स्वयं र सबै सदस्यहरु सचेत हुनु पर्दछ ।
जेहोस्, पछिल्लो घट्नाले सदस्यहरुको शुद्धिकरण अझै मसिनो र गहिरो ढंगले विश्लेषण गरेर मात्र गर्न आवश्यक छ भन्ने सकारात्मक पाठ सिकाएको छ । सदस्यता स्थानान्तरण किन गर्ने ? निजामति कर्मचारीहरुको सदस्यता शुद्धिकरण हुँदा राष्ट्रसेवक कर्मचारीहरुको किन नहुने ? राजनीतिक दलका पदाधिकारीहरुको शुद्धिकरण गर्दा अन्य जिम्मेवार सदस्यहरुको किन नगर्ने ? जनप्रतिनिधिका उम्मेदवार किन रहने ? पहुँचका आधारमा कतिपय निष्क्रिय सदस्यहरु किन कायम रहने ? जस्ता विषयहरु बहसका रुपमा उठेका छन् ।
उल्लेखित प्रश्न स्वभाविक जायज हुँदाहुँदै पहिलो चरणमा केन्द्रिय समितिले निर्धारण गरेको मापदण्ड र सर्कुलरलाई कार्यान्वयन गर्न खोजिएको हो । आगामी दिनमा माथिका प्रश्नहरु सम्वोधन गर्ने तर्फ महासंघ केन्द्र र प्रदेश समितिहरुले आवश्यक कदम चाल्दै जालान् । विशुद्ध निरपेक्ष कोणबाट व्यवसायिक पत्रकारिताको बहसपनि अहिलेनै कति सार्थक, व्यवहारिक र सान्दर्भिक होला ? त्यो पनि सोचनिय विषय छ ।
जेहोस्, दोलखा जिल्ला शाखाले हाललाई शुद्धिकरणको निर्णय स्थगन गरेर परिस्थिति सामान्य भएपछि सबैले स्वामित्व ग्रहण गर्नसक्ने गरी कदम चाल्ने भनेको छ । सदस्य नहुँदैमा पत्रकारिताबाट हात धुनुपर्ने पनि होईन । लामो समयदेखि पत्रकारितामा क्रियाशील नरहेको, आगामी दिनमा सक्रिय हुने आकांक्षापनि नरहेका सदस्यहरुले स्वेच्छिक त्याग गरेर उच्च नैतिकता प्रदर्शन गर्दा सुनमा सुगन्ध । त्यस्तो अवस्थामा पंक्तिकार पनि सदस्यता ओगटेर नबस्ने प्रतिबद्धता जाहेर गर्दछ ।
सिंगो पत्रकारिता क्षेत्रमा रहेको विकृत्ति, विसंगती र अराजकता अन्त्य गर्न सदस्यहरुको मात्रै शुद्धिकरण गरेर पुग्दैन । बाहिर पनि त्यत्तिकै शुद्धिकरण र नियमनको खाँचो छ । जोपनि पत्रकार बन्ने र जेपनि गर्नसक्ने प्रवृत्ति नियन्त्रणको विकल्प छैन । त्यसमा राज्यले हस्तक्षेप गर्नुभन्दा स्वनियमको सुन्दर अभ्यास हामीले गर्नसक्नुपर्छ । चौथो अंगप्रति आम नागरिकको विस्वास र भरोसा बढाउन पत्रकारहरु स्वयंले यो कदम चाल्नुपर्छ । पत्रकारिताको आवरणका सबै गलत चिन्तन÷प्रवृत्ति, व्यवहार र क्रियाकलापहरुलाई निर्मम भएर निरुत्साहित गरिनुपर्छ ।
विगतमा पेशागत संगठनहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, चरम राजनीतिकरण, महासंघमा हावी हुने प्रवृत्ति आदी कारणको प्रतिफल महासंघ भद्धा बनेको छ । सदस्य थपिरहने, एकपटक बनेपछि आजिवन सदस्यको रुपमा रहने, काँटछाँट कहिल्यै नगर्दा समस्या अरु बढ्न सक्छ । त्यसैले अपरिहार्य बनिसकेको महासंघको सदस्यता शुद्धिकरण अभियानलाई सबैले म म भनेर सकारात्मक र रचनात्मक सहयोग गरौं । आमसंचारमाध्यम र पत्रकारितालाई थप बदनाम र कुनै बहानामा लगाम लगाउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले जिम्मेवार भएर भूमिका निर्वाह गरौं । यसैमा सबैको हित अन्तरनिहित छ ।
-लेखक नेपाल पत्रकार महासंघ, दोलखा जिल्ला शाखाका उपाध्यक्ष हुन् ।