काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । एडीवीका अनुसार चालु आवमा नेपालको आर्थिक बृद्धिदर ४.३ प्रतिशत हुनेछ । गत आर्थिक वर्षको आर्थिक बृद्धिदर १.९ प्रतिशत थियो । चालु आर्थिक वर्षमा सुधार हुने प्रक्षेपण एडीबीले गरेको छ ।
सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा एडीबीले गरेको छ। सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्षयसहित बजेट ल्याएको थियो । गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६.२ प्रतिशत हुने एशियाली विकास बैंकले अनुमान गरेको छ । गत आर्थिक वर्षमा ७ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो ।
सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएकोमा नेपाल राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति तर्जुमा गरेको छ ।
एडीबीले बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत घाटामा रहेको चालु खाता चालु आवमा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता ३३ महिनापछि बचतमा गएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।