चरिकोट । देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । आयोजनाको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न लागिएको हो । यस क्रममा १८ घण्टा विद्युत् उत्पादन बन्द हुनेछ । सोमबार बिहानबाट विद्युत् उत्पादन बन्द गरिन लागिएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् ।
४ सय ५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रमा सोमबार बिहान ४ बजेबाट राति १० बजेसम्म जलाशयको पानी खाली गरेर थुप्रिएको बालुवा तथा अन्य गेग्रान हटाउन लागिएको हो । नियमित प्रक्रिया अन्तर्गत वर्षाका कारण बाढीले बगाएर ल्याएका गेग्रान जलाशयमा भरिँदै गएकोले जलाशय खाली गरेर सफा गर्न लागिएको आयोजनाका प्रवन्धक पूर्णगोपाल रञ्जितले बताए ।
उनका अनुसार तामाकोसी जलविद्युत् केन्द्रले सोही समयमा बालुवा थिग्राउने पोखरी, टनेल, र विद्युत् गृहको समेत सरसफाइ र मर्मत कार्य हुनेछ । जलशय सफा गर्ने क्रममा तामाकोसी नदीको वहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ ।
जलाशय खाली गर्ने क्रममा बाँधस्थलबाट पानी छाड्दा नदीमा एक्कासी पानी सतह बढ्ने भएकाले तामाकोसी र सुनकोसी तटीय क्षेत्रका स्थानीयलाई माछा मार्न, पौडी खेल्न, नुहाउन लुगा धुन, शव जलाउन, नदीबाट बालुवा निकाल्न नजान आग्रह गरिएको हो ।