काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा ३ रुपैयाँ बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १।१२ र डिजेलको २।९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८० र डिजेलको मूल्य १७० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ र डिजेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य १७३ रुपैयाँ कायम भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।