काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा दोलखा घर भएका तीनसहित चार जनाको हत्या भएको छ । हत्या गरिएका तीन जना एकै परिवारका सदस्य हुन् । प्रहरीका अनुसार गैह्रीगाउँको दिव्य स–मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको छ ।
हत्या हुनेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका–८ घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।
उनका अनुसार चारै जना सोही सस्मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
घटनास्थलबाट अनुसन्धानका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ ।
घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको छ ।