काठमाडौं । हङकङबाट नेपालमा हुने सुन तस्करीका लागि दोलखाका युवाहरुलाई प्रयोग गरी थप कम्पनी खडा गरिएको खुलेको छ छ । सुन तस्करीको योजनाकार मध्येका हर्क राईमार्फत दोलखाका दिलीप भुजेलले विभिन्न कम्पनी खडा गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले यो समूहले सुन तस्करीका मात्र लागि सातवटा कम्पनी खडा गरेको खुलाएको छ । जसमध्ये दिलीपले आफ्नै भान्जा राजकुमार भुजेलको नाममा मात्रै पाँचवटा कम्पनी खडा गरेको पाइएको छ ।
राजकुमारको नाममा रेडी ट्रेडर्स, हवाडा इलेक्ट्रिक, भुजेल इन्टरप्राइजेज, दोलखा इलेक्ट्रिक, पोवाटी इलेक्ट्रिक खडा गरिएको छ । सरिता तामाङ र लेखनाथ कार्कीको नाममा समेत एक–एक कम्पनी खोलिएको छ । हाल बरामद भएको सुन रेडी ट्रेडर्समार्फत आएको सुन हो ।
- बाँसबारीस्थित लेखनाथ कार्की सञ्चालक रहेको छुङगाक इलेक्ट्रिक सप्लायर्स
- चाबहिल (गोपिकृष्ण पारी) स्थित रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स
- सामाखुसीस्थित कुमारबहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स
- बाँसबारीस्थित रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स
- लाजिम्पाट र हात्तीगौंडा मा रहेका विकेन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स
- बालुवाटारस्थित दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि,
- बुढानिलकण्ठस्थित सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स
बरामद भएको ६१ किलोबाहेक रेडी ट्रेडर्समार्फत थप ३०२ किलो अवैध सुन भित्र्याएर उनीहरूले बाजारमा पठाएको खुलेको छ । रेडी ट्रेडर्समार्फत ३४ पटक ब्रेक सू नेपाल भित्रिएको थियो । रेडी ट्रेडर्सबाहेक अन्य कम्पनीमार्फत समेत सुन भित्रिएको खुलेको छ ।
सीआईबीले हाललाई पहिलो चरणको अनुसन्धानको प्रतिवेदनमात्रै बुझाइएको र पछि फेरि पूरक अनुसन्धान गर्न मिल्ने गरी अनुसन्धान बाँकी रहेको जनाएको छ ।
हङकङ हुँदै तस्करी भएर काठमाडौं पुगेको सुन गाल्न चिनियाँ समूहले काठमाडौंको विभिन्न ठाउँमा गोदाम सञ्चालन गरेको थियो । ती गोदाममा सुन गाल्न उनीहरूले साना–ठूला गरेर सातवटा मेसिन राखेका थिए । सीआईबीको टोलीले मेसिनसमेत बरामद गरेको छ ।
त्यसरी गालेको सुन ग्राहकसम्म पुर्याउन हङकङ तथा याहो पेचिङको निर्देशन अनुसार सिन्धुलीका सुमन खरेलले गर्ने गरेको खुलेको छ । त्यसका लागि हुन्डीको शैलीमा विभिन्न कोड नम्बरसहितका मान्छे खरेललाई भेट्न आउने र उनीहरूलाई हङकङमा रहेको तस्कर समूहले पुष्टि गरेपछि मात्रै सुन बुझाउने काम गर्ने गरेको खुलेको छ ।
तस्करीबाट आएको सुन हुन्डी तथा क्रिप्टोमार्फत हङकङ पुग्ने गरेको खुलेको छ ।
हङकङबाट पाँचजना मुख्य लगानीकर्ताले नेपालमा ठूलो मात्रामा अवैध सुन पठाउने गरेका थिए । (सीआईबी) ले ३५ दिन लगाएर गरेको अनुसन्धानबाट मुख्य लगानीकर्ता हङकङमा रहेको खुलेको हो ।
२ साउनमा राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा १९ दिन अनुसन्धान गरेको विभागले संगठितरूपमा सुन तस्करी गरेको देखिएपछि अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पिएको थियो ।
सीआईबीले गरेको अनुसन्धानको प्रतिवेदन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । ६१ किलो सुन तस्करीबाट अनुसन्धान थालेको प्रहरीले रेडी ट्रेडर्समार्फत मात्रै गिरोहले थप ३०२ किलो सुन तस्करी गरेको तथ्य भेटाएको छ ।
सीआईबीले सुन तस्करीका प्रमुखमध्ये याहो पेचिङसहित ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ । जसमध्ये ३२ जना पक्राउ परेका आरोपित हुन् । १८ जना अझै फरार छन् । फरारमध्ये १४ जना चिनियाँ नागरिक हुन् । चारजना नेपाली हुन् ।
उनीहरूबाट तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपियाँ बिगो दाबी गरिएको छ ।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पक्राउ परेका ३२ मध्ये २३ जना नेपाली, ९ जना विदेशी नागरिक रहेको जानकारी दिइन् । सीआईबीले पक्राउ परेका ट्याक्सी चालक अशोक लामा, भन्सारकी कर्मचारी रुक्मिना सुब्बासहित ६ जनाविरुद्ध भने मुद्दा नचलाउन सुझाव दिएको छ ।
सुन तस्कर समूहविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको मुद्दा चलाउन सकिने राय सीआईबीले दिएको छ ।