काठमाडौं । दोलखा घर भएका दिलिप भुजेल संचालक रहेको रेडी ट्रेडर्स प्रालिले ३०२ किलो सुन भित्र्याएको पाईएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ ।
उक्त कम्पनी दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय दिलीप भुजेलको एकल स्वामित्वमा दर्ता छ । सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ ।
सीआईबीले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ । सो प्रकरणको अनुसन्धानको क्रममा सीआईबीले ३२ जनालाई पक्राउ गरेको छ । १८ जना फरार रहेका छन् । फरार रहनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती कमला रोकासहित अन्य रहेका छन् ।
भुजेल कसरी भए कम्पनी मालिक ?
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा एक गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् २१ वर्षीय दिलीप भुजेल । उनले गाउँमै प्लस टु सम्मको अध्ययन गरेका छन् । रोजगारीको खोजीमा करिब १० महिना अगाडि मात्रै दिलीप काठमाडौँ आएका थिए । काठमाडौँ आएर सुरुमा ज्यामी मजदुरको काम गरेका दिलीप चाउमिन उद्योगमा सामान्य मजदुर र चाउमिन पुर्याउने रनर ब्वाईको काम गर्ने गर्थे ।
तर साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट दिलीपको नामबाट खुलेको रेडी ट्रेड प्रालिले हङकङबाट ल्याएको सामान राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लियो । अवैध सामान तस्करी गरी ल्याएको भन्दै भन्सार एजेन्टको काम गर्ने राजेन्द्र राई सहितका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेपछि कम्पनीका ‘मालिक’ रहेका दिलीप भुजेललाई पनि प्रहरीले साँखुबाट पक्राउ गरेको थियो ।
कम्पनी रजिस्ट्रारको कार्यालयको रेकर्ड अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखी स्थापना भएको कम्पनीको उद्देश्यमा विदेशबाट सामान आयात गर्ने उल्लेख गरिएको छ । कम्पनीको अधिकृत पुँजीमा २५ लाख रुपैयाँ राखिएको छ ।