काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट फेरी एक किलो सुन बरामद गरेको छ । एक किलो सुनसहित काभ्रेसका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका-३ का २८ वर्षीय बाबुलाल दोङ, काभ्रेककै रोशी गाउँपालिकाका जगत लामा र काभ्रेकै मिङ्मा दोर्जे स्यान्तान रहेका छन् ।
दुबईबाट हिमालय एयरलाइन्समा आएका बाबुलाल दोङले मलद्वारमा एक किलो सुन लुकाएर ल्याएका थिए । उक्त सुन लिन पुगेका जगत र मिङ्ला स्यान्तानसमेत प्रहरीको फन्दामा परेका हुन् ।
उक्त सुनका मुख्य मालिक जगत लामा भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जगतले बाबुलाललाई सुन ल्याउन पाँचपटक दुबई पठाएको खुलेको छ ।यसपटक भने प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले जगतले चढ्ने गरेको बा०१२७ च ९९६० नम्बरको कारसमेत बरामद गरेको छ ।
कारबाट करिब एक करोड रुपैयाँ बराबरको चेक बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।