Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको एकसहित स्थानीय तहका २१ पदमा उपनिर्वाचनको तयारी

काठमाण्डौं । निर्वाचन आयोगले बिभिन्न कारण रिक्त भएका स्थानीय तहका २१ पदमा उपनिर्वाचन गराउने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभर जनप्रतिनिधिविहीन रहेको २१ स्थानमा सरकारसँग परामर्श गरेर निर्वाचन गराउने तयारी भैरहेको जानकारी दिए । 

उनका अनुसार माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनपछि आगामी वैशाखमा स्थानीय तहको रिक्त पदहरुमा उपनिर्वाचन गराउने तयारी छ । जनप्रतिनिधिविहीन भएको २१ मध्ये नेपाली कांग्रेसको १२, नेकपा एमालेको र नेकपा माओवादी केन्द्रको ४–४ तथा स्वतन्त्र १ स्थान रहेको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका ५ स्थान, वाग्मती प्रदेशमा ४, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ३–३, कोसी र मधेस प्रदेशमा २–२ तथा गण्डकी प्रदेश १ स्थान जनप्रतिनिधिविहीन छन् । 

‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नु पर्दैन । 

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएपछि उक्त पदपनि रिक्त छ । उपाध्यक्ष तामाङको गत असारमा निधन भएको थियो । उनी गत स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update