काठमाडौं । चीनसँगको उत्तरी तातोपानी नाका शुक्रवारदेखि खुलेको छ । चिनियाँ अधिकारीहरुसँगको बैठकले तातोपानी नाका भएर मानव आवतजावत पनि खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।
तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार शुक्रबारदेखि सो नाका सञ्चालनमा ल्याउने समझदारी भएको हो । महावाणिज्यदूत नवराज ढकालले नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुलेको जानकारी दिए ।
तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ ।
२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।
कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।