काठमाण्डौं । सरकारले दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधिन जलविद्यूत आयोजनालाई सार्वजनिक वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । सरकारले गौरीशंकर गाउँपालिका वडा नम्बर ५, सुरी स्थित निर्माणाधिन साँगुखोला, माथिल्लो सुरीखोला र साँगुखोला–१, जलविद्यूत आयोजनालाई सरकारी वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
तीनवटै जलविद्यूत आयोजनालाई स्थानीय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय हालै बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । २० मेगावाटको साँगुखोला जलविद्युत् आयोजना र साढे पाँच मेगावाटको साँगुखोला–१ जलविद्युत् आयोजना हिम पर्वत हाइड्रोपावरले निर्माण गरिरहेको छ । ७ मेगावाट क्षमताको माथिल्लो सुरीखोला मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको छ ।
यस्तै सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डडेलधुराका कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा पनेरुलाई नियुक्त गरेको हो ।
त्यस्तै, निजीकरण समितिको सदस्यमा सांसदद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटा मनोनीत भएका छन् । सरकारले निजीकरण ऐन, २०५० बमोजिम कांग्रेस सांसद केसी र माओवादी केन्द्रका सांसद सापकोटालाई सदस्य तोकेको हो ।
बैठकले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनकाअनुसार बैठकले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको एक महिना म्याद थप गर्ने निर्णय गरेको छ भने नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजनाका लागि ३८ वटा राजपत्रांकित अधिकृतस्तरका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।