Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन सकिने

काठमाडौं । विद्यार्थीहरुले अब शैक्षिक प्रमाणपत्र सच्याउने अबसर पाउने भएका छन् । मन्त्री परिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रमाणपत्रको ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको हो । 

गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठूलो मर्कामा थिए।

अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ। शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।

यस्तो छ, संशोधित नियम :

कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ।

तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनु अघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नाम थर सच्याउन पाँच वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र दरखास्त दिन सक्नेछ।

त्यसै गरी नागरिकता सच्चाएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्चाउन दरखास्त दिन पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update