काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । कांग्रेस सांसद उदय शमशेर राणाले अर्थतन्त्रबारे जिज्ञासा राखेका थिए ।
‘नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रको सूचकांकहरू सकारात्मक दिशातिर उन्मुख छन् २०८० साउन मसान्तसम्म शोधानान्तर स्थिति २९० अर्ब ५२ करोडको वचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति गत वर्ष यही अवधिको तुलनामा २६ प्रतिशतले वृद्धि भई १५ ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ। वैदेशिक लगानी प्रवद्र्धनमा थ्रेस होल्ड घटाइएको छ,’ उनले भने।
उनले सरकार गठनको यो अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखी राज्यको सम्पूर्ण शक्ति र सामथ्र्यलाई देश र जनताको हितमा अधिकता परिचालन गरिएको बताए। ‘सरकारको मुख्य जोड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र अर्थतन्त्रको पुनरुत्थान र सवलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच र भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन रहेको छ। नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा, सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने हाम्रो प्रयास रहँदै आएको छ। विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हित प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहँदै आएको छ,’ उनले भने।
प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण कार्यान्वयन गर्न चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा रकम विनियोजन गरिएको बताए।