काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरु चयन भएका छन् । प्रतिनिधिसभाको १० वटा विषयगत समितिमध्ये ९ वटाको सभापति सर्वसम्मत हुने भएका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
विषयगत समितिको सभापति चयनका लागि सोमबार निर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएकाले त्यसअनुसार नै उम्मेदवारी परेको छ । ‘भोलि ३ बजे सबै समितिको बैठक राखिएको छ । संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले एउटा मात्र उम्मेदवारी परेकाहरूको हकमा त्यही सर्वसम्मत निर्वाचित घोषणा हुने बताए ।
सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको मात्र उम्मेदवारी परेको छ । एमालेकै किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । दलहरुबीच सहमतिमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् । आइतबार अन्तिम समयमा माओवादी र राप्रपाको सहमतिमा सिंह उम्मेदवार भएकाले अरुले उम्मेदवारी दिएका छैनन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको मात्र उम्मेदवारी परेको छ भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाएको थियो ।