Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सद्भाव काम राख्न धरान प्रबेश र सुरक्षामा कडाई

काठमाण्डौं । धरान उपमहानगरपालिकामा धार्मिक सहिष्णुता बिग्रनसक्ने सम्भावनालाई मध्येनजर गर्दै कडाई गरिएको छ । त्यहाँ आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ ।

विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै  निषेधाज्ञा जारी गरेको छ।  सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ।

निषेधाज्ञा  धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको  बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी  ६ नं. बाट बराहक्षेत्र  वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।

त्यस्तै, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा।पा। वडा नं। ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको  पानीपिया क्षेत्रमै रोकिएको छ। धरानका मेयर हर्क साम्पाङसहित सबै राजनीतिक दलका नेताहरु, पुर्व मेयरहरु, नागरिक अगुवाहरुले सबैलाई संयम अपनाउन अपिल गरेका छन्। उनीहरूले धार्मिक र सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update