Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र अपायक र जोखिमपुर्ण स्थानमा तोकियो’

चरिकोट । नेकपा एमालेले कालिञ्चोक गाउँपालिकाको केन्द्र ७५ प्रतिशत जनतालाई अपायक र जोखिमपुर्ण क्षेत्रमा तोकिएको भन्दै बिरोध जनाएको छ । एमाले कालिञ्चोक गाउँपालिका कमिटिले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले गरेको निर्णय स्थानीय तहको केन्द्र निर्धारण सम्बन्धी आधार र मापदण्ड बिपरित समेत रहेको जनाएको छ ।

गाउँपालिकाको १२ औं गाउँसभाले हालै वडा नम्बर ४, स्थित सामुदायिक वनको कुभिण्डेमा स्थायी प्रशासनिक केन्द्र राख्ने निर्णय गरेको थियो । ‘उक्त स्थान जोखिमपुर्ण मात्र होईन गाउँपालिकाका ७५ प्रतिशत जनतालाई अपायक पर्ने भएकाले गलत निर्णय सच्याएर सुनखानी–साङ्वा सडकको आसपास हुनेगरी निर्धारण गर्न जोडदार माग गर्दछ, विज्ञप्तीमा भनिएको छ । 

जारी विज्ञप्तीमा वडा नम्बर ५ को बन्देथलीमा स्थायी केन्द्र प्रयोजनका लागि स्थानीयले गाउँपालिकाको नाममा निशुल्क रजिष्टेसन पास गरिदिएको जग्गाबारे कुनै मुल्यांकन नगरी विकल्प खोजिएकोमा पनि आपत्ती जनाईएको छ । जग्गादाता पीडित जनतालाई उचित मुल्यांकन सहित क्षतिपुर्ति प्रदान गर्न माग गरिएको छ । 

यसैगरी लम्पी स्कीनको प्रकोपका कारण गाउँपालिकामा पशुचौपाया मर्ने क्रम तिब्र हुँदा पनि गाउँपालिका मुकदर्शक बनिरहेको भन्दै उपचारको व्यवस्था र मरेका पशुचौपायाको राहात प्रदान गर्न पनि ध्यानाकर्षण गराईएको छ । विज्ञप्तीमा एमाले कालिञ्चोक गाउँपालिका कमिटीका कार्यबाहक अध्यक्ष निशान बुढाथोकी र सचिव होमबहादुर थामीले हस्ताक्षर गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update