Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रोल्वालिङ खोला आयोजनाको लगानी स्वीकृत, यसकारण महत्वपुर्ण छ रोल्वालिङ 

काठमाण्डौं । लगानी बोर्डले २२ मेगावाट क्षमताको रोल्वालिङखोला जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ । बोर्डले रोल्वालिङसँगै ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो । माथिल्लो तामाकोशी र त्यसको क्यासकेड तामाकशी–५ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता बढाउन यो आयोजना निर्माण गर्न लागिएको हो । 

नयाँ आयोजना बन्न लागेको रोल्वालिङ खोला छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । यो खोलाको पानी अहिले माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा तल खस्छ । यो आयोजना बनेपछि भने रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइनेछ र २२ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ । यसबाट तामाकोशीमा हिउँदमा पनि पानीको मात्रा बढेर माथिल्लो तामाकोसी आयोजनाको विजुलीको उत्पादन बढ्नेछ । यसले भारतबाट पिक आवरमा विद्युत आपूर्ति गर्नुपर्ने बाध्यता हटाउन सघाउँछ ।

विद्युत विकास विभागबाट २०७४ को भदौमा नै २२ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने अनुमति पनि तामाकोशीले नै पाएको थियो । रोल्वालिङको पानी तामाकोशीको रिजभ्र्वायरमा खसाल्दा तामाकोसीबाट हिउँदमा पनि उत्पादन बढ्नेछ ।

तामाकोशीको जलाशयको सतहभन्दा करिब दुई सय मिटरमाथिबाट रोल्वालिङ डाइभर्सनको सुरुङ आउँछ । उक्त ‘वाटर हेड’ प्रयोग गरी २२ मेगावाटको अलग्गै आयोजना निर्माण गर्न लागिएको छ । यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट बिजुली थपिने अनुमान छ । यसले २ सय गिगावाट आवर थप विजुली प्राप्त गर्न सहयोग गर्ने छ ।

करिब ८० मेगावाटका आयोजनाबाट उत्पादन हुने बराबरको विद्युत रोल्वालिङ डाइभर्सनबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसका लागि करिब सात किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यसको विस्तृत अध्ययन भएर अडिट टेनल निर्माणको तयारी सुरु भएकै अवस्थामा काम रोकिएपछि आयोजनाको भविष्य अन्योलमा परेको छ ।

माथिल्लो तामाकोशीमा ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकायले यसमा लगानी गरेका छन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकट क्षेत्रमा रहेकाले त्यहाँसम्म समान आपूर्ति गर्न घोडेटो र रोप–वे निर्माणको काम गर्नुपर्ने छ ।
शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update