Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेश सरकारले गर्यो मन्त्रालय विभाजन

हेटौंडा । वाग्मती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले औपचारिकरुपमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बनाउने निर्णय गरेको हो । नयाँ मन्त्रालयको जिम्मेवारी हालका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई दिइएको छ ।

प्रदेश सभामा कांग्रेसका संसदीय दलका उपनेता चित्रकारले मन्त्री नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी पाएका थिएनन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको प्रदेश सरकार गत जेठ पहिलो साता गठन भएको हो ।

प्रदेश सरकारले प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आह्‍वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले सरकारको कार्यविभाजन नियमावली, २०८० तथा प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० स्वीकृत गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा संख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न बैठकले स्वीकृति प्रदान गरेको छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्वार सेवासम्बन्धी कार्यविधि, २०८० निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update