चरिकोट । दोलखा सदरमुकाम चरिकोट स्थित पशुपति स्मृति प्रादेशिक अस्पतालको सामान्य शैया (जनरल बेड) निशुल्क हुने भएको छ । यो अस्पतालसहित वाग्मती प्रदेश सरकारमातहतका १३ वटा सरकारी अस्पतालमा भदौ १ गते अर्थात शुक्रबारदेखि जनरल बेड निःशुल्क हुने भएको हो ।
जसमा चरिकोट अस्पताल, त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, रसुवा अस्पताल, जिल्ला अस्पताल रामेछाप, चौतारा अस्पताल, सिन्धुली अस्पताल, बकुलर रत्ननगर अस्पताल, टोखा अस्पताल, बज्रवाराही चापागाउँ अस्पताल र मेथिनकोट अस्पताल रहेका छन् । वाग्मती प्रदेश, स्वास्थ्य मन्त्रालयले साउन २२ गते निर्णय गरेर अस्पतालमा जनरल बेड सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन परिपत्र मार्फत निर्देशन दिएको छ ।
परिपत्रमा सरकारी अस्पतालमा उपलब्ध रहेको बेडमध्येबाट क्याबिन, एनआईसीयू र आईसीयूबाहेकका अन्य सम्पूर्ण बेड निःशुल्क प्रदान गर्न भनिएको छ । निजी,सरकारी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपांग वर्ग ‘क’ र ‘ख’, विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्न पनि निर्देशन गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपकबाबु तिवारीले बताए ।
अस्पतालहरूलाई सामाजिक सेवा इकाईबाट पुनर्बास सेवा र फिजियोथेरापी सेवा पनि बिरामीलाई निःशुल्क उपलब्ध गराउन भनिएको छ ।
यी १३ वटा अस्पतालमा ८ सय ११ वटा सामान्य बेड रहेका छन् । यी अस्पतालहरूमा शुक्रबारदेखि सामान्य बेड बिरामीलाई निःशुल्क उपलपब्ध गराइने छ । अस्पतालहरू लेसामान्य बेडको शुल्क २५ रुपैयाँदेखि सय रुपैयाँसम्म लिँदै आएका थिए ।