Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गौर घट्नाबारे सरकारले गरेको सहमति प्रति जसपाको आपत्ती

काठमाडौँ । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ती जनाएको छ । उक्त सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको जसपाको ठहर छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त्यस प्रकारको सम्झौता हुनु दुस्खद् भएको जसपाले जनाएको छ । सरकार र आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमति अनुसार २०६३ चैत ७ मा गौरमा भएको घटनामा दोषीमाथि छानबिन गर्ने उल्लेख छ ।

जसपाले भने सो घटना हुनुमा तत्कालीन माओवादीको मधेशमुक्ति मोर्चाका महासचिव प्रभु साह दोषी रहेको दाबी गरेको छ । विभिन्न स्थानमा माओवादीले आफ्ना सभाहरुमा आक्रमण गरेको र गौरमा १२ दिनअघि नै कार्यक्रम गर्न स्थानीय प्रशासनबाट स्वीकृत लिए पनि माओवादीले त्यसको २ दिनअघि सो स्थानमा कार्यक्रम राखेर भीडन्तको अवस्था सिर्जना गरेको जसपाले बताएको छ ।

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा भएको घटनामा २७ जना मरिएका थिए । माओवादी र तत्कालीन मधेश जनाधिकार फोरमबीच झडप भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update