काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउप्रति सांसदहरुले आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका हुन् ।
सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको उनीहरुको आरोप छ ।
शुक्रबारको बैठकमा त्यस विषयले प्रवेश पाएपछि निर्णय भने भएको छैन । सांसद प्रदिप पौडेलले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनपर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए । सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए ।
‘सुन तस्करीका विषयमा सरकारप्रति औंला उठाइरहेका व्यक्तिलाई जुन ढंगले पक्राउ गरियो, यो प्रतिशोध साँधेर गरेर गरिएको हो भन्ने प्रस्ट छ,’ उनले भने ।’