Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमालेले भन्यो : डिम्याट बिनानै तामाकोशीमा हदप्रद सेयर हाल्ने व्यवस्था गरियोस्

चरिकोट । नेकपा एमाले दोलखाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सबै सर्बसाधारण नागरिकको हदप्रद सेयर सुनिश्चित गर्न माग गरेको छ । डिम्याट खाता अनिवार्य गर्दा धेरै नागरिक हदप्रद सेयरबाट बञ्चित हुने भन्दै एमालेले डिम्याट बिनानै हदप्रद सेयर आवेदनको व्यवस्था गर्न माग गरेको हो ।

आयोजनाले हकप्रद शेयर निष्कासनको लागि शेयर दाखिल खारेज बन्द (बुक क्लोज) को मिति तोकेर सूचना जारी गरेपछि एमालेले विज्ञप्ती जारी गर्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठद्धारा जारी गरिएको विज्ञप्तीमा स्वदेश तथा विदेशमा रहेका सबै दोलखाली नागरिकको हितग्राही (डिम्याट) खाता नभएको खण्डमा पनि हदप्रद सेयर सुनिश्चित गर्न माग गरिएको छ ।

‘विदेशमा भएका वा स्वदेशमै रहेका कुनै पनि दोलखाली नागरिकको हितग्राही खाता नभएको खण्डमा पनि हकप्रद शेयर सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ, हाम्रो गाम्भिर्यतालाई बेवास्ता गरेमा सम्पूर्ण जिम्मेवारी अपर तामाकोसी हाइड्रोपावरले लिनुपर्नेछ’, विज्ञप्तिमा लेखिएको छ । पुर्व समझदारी कार्यान्वयन नगरी माग बेवास्ता गरिएमा सम्पूर्ण जिम्मेवारी तामाकोशी हाईडोपावर हुनुपर्ने चेतावनी पनि विज्ञप्तीमा दिईएको छ । 

हकप्रद शेयरमा सबै दोलखालीको सहभागिता सुनिश्चितताको लागि  गत साउन ९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दोलखाका सबै सरोकारवालासँग भएको छलफलको निर्णय आयोजनाले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको हो ।

सो  छलफलले आयोजना प्रभावित दोलखालीको हितग्राही खाता (डिम्याट एकाउण्ट) खोल्न सबै स्थानीय तहहरूमा आयोजना, शेयर इश्यु म्यानेजर र सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको समन्वयमा सनराइज क्यापिटलले व्यवस्थापन गरी हितग्राही खाता खोल्ने व्यवस्था गर्ने तथा भौतिक रूपमा पनि फाराम भरेर हकप्रद शेयर हाल्न पाउने निर्णय गरेको थियो ।  

यसअघि नेपाली कांग्रेस दोलखाले पनि विज्ञप्ती जारी गरेर जिल्लाबासी नागरिक हदप्रद सेयरबाट बञ्चित भए मान्य नहुने चेतावनी दिईसकेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update