चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुका गएको पहिरोमा परी बेपत्ता हुनेको संख्या ४ पुगेको छ । पहिरोमा परेर बेपत्ता हुनेमा स्थानीय ५४÷५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३÷५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता छन् ।
पहिरोमा परी तीन जना गम्भीर घाईते भएका छन् । स्थानीय यज्ञ तामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी गम्भीर घाईते भएका हुन् । उनीहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिँदैछ । जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार बेलुका खारे तर्फको भिरबाट बस्तीमा खसेको पहिरोले ठुलो जनधनको क्षति भएको हो ।
पहिरोले बस्तीका ५ घर पुरेको मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयले बेपत्ताको खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
अविरल वर्षा र मौसम प्रतिकुलता र टेलिफोन सम्पर्क समेत विच्छेद भएका कारण घट्ना बेलुकी नै भएपनि ढिलोगरी जानकारी प्राप्त भएको हो । घटनास्थल दोलखाको सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर उत्तरमा पर्छ ।