चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोमा परी तीन जना घाईते भएका छन् । घट्नामा ३ जना बेपत्ता भएको आशंका गरिएको छ । पहिरोले गौरीशंकर गाउँपालिका वडा नम्बर ७ को मार्वुको टोपाटार र खारेको सल्ले स्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ ।
स्थानीयका अनुसार पहिरोमा परी टोपाटार स्थित यज्ञ थामी, उनकी श्रीमती र अर्का एक जना घाईते भएका छन् । उनीहरुको घाईते अबस्थामा उद्धार गरिएको हो । बेपत्ताको परिचय खुल्न नसकेको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिए । उनका अनुसार पहिरोले १५ घर विस्थापित भएका छन् ।
घट्नाको बिस्तृत बिवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । प्रहरीका अनुसार घट्नास्थलमा प्रहरी खटिईसकेपनि बाटो अबरुद्ध भएका कारण पुग्न सकेको छैन । हिजो दिउँसो देखि परेको अबिरण वर्षाका कारण मार्बु टोपटार र खारेको सल्ले आसपास पहिरो गएको हो । पहिरोले टोपाटरको पक्की पुल र आसपासको घर खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् ।