Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाबाट कार्यालयहरु सार्न थालियो, नागरिक समाजद्धारा एउटा कार्यालयमा तालाबन्दी

चरिकोट । दोलखाबाट सेवा प्रदान गर्दै आएको सरकारी कार्यालयहरु सार्न थालिएपछि नागरिक समाजले आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई दोलखा रामेछाप सार्ने लागिएको बिरोधमा आज कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको हो ।

माग सुनुवाईका लागि पहिलो चरणमा दबाबमुलक अभियानका कार्यक्रम अन्तर्गत तालाबन्दी गरिएको नागरिक आन्दोलनका अगुवाहरुले बताएका छन् । नागरिक प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यालय रामेछाप लैजाने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

नागरिक समाजका संयोजक चिरञ्जिवी मास्केले कार्यालय चरिकोटबाटै यथावत् सञ्चालन गर्ने व्यवस्था गर्न माग गरे । जनतासँग प्रत्यक्ष जोडिएका संघ तथा प्रदेश सरकार अन्तर्गतका सबै कार्यालय जिल्ला सदरमुकाममा स्थापना गर्नुपर्ने नागरिक समाजको माग छ । 

यसअघि नागरिक समाजले संघ तथा प्रदेश अन्तर्गतका कार्यालयहरु चरिकोटमै स्थापना गर्न ध्यानाकर्षण गराएको थियो । कार्यालयहरु अन्य जिल्लामा जाँदा सेवाग्राही मारमा पर्ने भएका छन् ।

नागरिक समाजका अभियान्ताहरुले साउन १८ गते दोलखा जिल्ला हेर्ने र अन्य जिल्लाबाट चलिरहेका प्रदेश र संघ सरकार मातहतका कार्यालय प्रमुख र सुचना अधिकारीलाई जिल्लाबासीले भोगेको समस्या सुनाउने लगायतका दबाबमुलक कार्यक्रम गर्न जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update