एउटा त्यस्तो गाउँ, जहाँ शतप्रतिशत अल्पसंख्यक थामी समुदायको बसोबास छ । त्यसैले होला सायद यो गाउँको नामपनि थामीचागु रहेको छ । दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ मा पर्ने थामीचागु गाउँ पुग्न सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दुरीको यात्रा पार गर्नुपर्दछ । यो गाउँमा झण्डै चार सय घरपरिवार छ । थामीचागु जस्ता गाउँ अनि त्यहाँका समुदायको हकहित र अधिकारको लागि भन्दै मुलुकले सात दशक बढी समय युद्ध, आन्दोलन र संघर्षमै गुजा¥यो । यहाँका समुदायपनि त्यसैमा लामबद्ध भए ।
जनयुद्धमा होस् वा अन्य आन्दोलनका मोर्चाहरुमा उत्पिडित÷पिछडिएका वर्ग, समुदायको भूमिका अग्रपंक्तिमा थियो । राजनीतिक परिवर्तनका प्रक्रियामा सामेल हुनुको अर्थ अभाब, गरिबी, बेरोजगारी, अशिक्षा, अन्याय, असमानता जस्ता समस्याको अन्त्य र सामाजिक न्यायसहितको समतामुलक समाज निर्माण गर्ने उत्कट अभिलाषा थियो । त्यही वर्ग, समुदायको साथ, सहयोगले व्यवस्था परिवर्तन भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि वर्षौं बितिसकेको छ ।
मुलुकमा आएको परिवर्तनले भुईमान्छेको जीवनमा (खासगरी उत्पीडित, पिछडिएको वर्ग/समुदाय) मा के कस्तो प्रभाव पारेको छ भनेर बुझ्ने र अध्ययन गर्ने उपयुक्त प्रतिनिधिमुलक ठाउँ त्यही हुनसक्छ भनेर यो पंक्तिकारसहित पत्रकारहरुको एउटा टोली सदरमुकाम चरिकोटबाट थामीचागु पुग्यो । घरहरुको बाक्लो संरचना, एउटै समुदायको बसोवास, मिलेको भुगोलले गाउँको छुट्टै पहिचान र विशेषता झल्किन्छ । यस्तो लाग्छ, राज्यले यो गाउँलाई नमुना बस्ती घोषणा गरेर सोही अनुसारको नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरिदेओस् । टाढाबाट हेर्दा निकै सुन्दर देखिने यो गाउँको भित्रि कथाव्याथा भने फरक छ ।
सामुहिक अन्तरक्रियाका क्रममा होस् वा घरघरमा पुग्दा यहाँ भेटिएका प्रत्येक नागरिकले मुलुकमा आएको राजनीतिक परिवर्तनको अनुभुति गर्न नसकेको प्रतिक्रिया दिए । कृषि, पशुपालन गर्ने जग्गाजमिन छैन । थोरै भएको जग्गामा गरिएको खेतिपातीले तीन महिना धान्न मुस्किल छ । राज्यले अन्य पेशा व्यवसाय गर्ने विकल्प दिनसकेको छैन । एकजनाले राम्रो रोजगारी पाउने वातावरण छैन ।
बाह्र महिना परिवारको हातमुख जोर्न उनीहरुसामु एउटै मात्र विकल्प छ, बैदेशिक रोजगारी । फरक यत्ति छ, अघिल्लो पुस्ता कामको खोजीमा भारतको दार्जलिङ, सिक्किम लगायतका ठाउँ पुग्थ्यो भने नयाँ पुस्ता खाडी मुलुक । वैदेशिक रोजगारीमा नगएका घर छैनन् । एउटै परिवारबाट तीन जनासम्म युवाहरु पटक पटक विदेश पलायन हुन बिबस छन् । विगत र वर्तमानको समस्या उही छ ।
खाडी मुलक जान लागेका नीरबहादुर थामी भन्छन्, ‘हाम्रो लागि लोकतन्त्र आए के नआए के, रोजीरोटीको लागि विदेश नगई भा छैन ।’
स्वास्थ्य र शिक्षामा समस्या उस्तै छ । अशिक्षाकै कारण कलिलै उमेरमा भागी विवाह गर्नेहरुको संख्या अधिक छ । सानै उमेरमा बुवा–आमा बन्नेहरु धेरै छन् । १३/१४ वर्षकै उमेरमा विवाह गर्दा किशोर/किशोरीहरु शारीरिक र मानसिक पिडा भोगिरहेका छन् । धेरै डिप्रेसनको शिकार भैसकेका छन् । सोही कारण हालै एक किशोरले आत्माहत्याको बाटो रोज्दा श्रीमती र वच्चाको बिल्लिबाठ भएको छ । १७ वर्षको उमेरमा आमा बनेकी मनमाया थामी (नाम परिवर्तन) अहिले एकल जीवन बिताईरहेकी छिन् । माईतीघरमा रहेकी उनको साथमा ९ महिनाको कलिलो बच्चा छ । उनी भक्कानिदै भन्छिन्, ‘अब म कसरी बाँच्ने ? आफ्नो त जिन्दगी बिग्रियो बिग्रियो बच्चाको भविष्यपनि बिग्रिने भयो ।’
सानैमा विवाह गरेर श्रीमान समेत गुमाएपछि उनलाई बज्रपात परेको छ । कलिलै उमेरमा विहे गरेकोमा अहिले उनलाई ठुलो पछुतो छ । तर समाजको साथ सहयोग पाए पढेर अझै केही गर्छु भन्ने आषा भने उनमा जिवित छ ।
यो गाउँबाट उच्च शिक्षा हासिल गर्नेहरु भेट्न मुस्किल छ । प्लस टु सम्मको अध्ययन गर्न पाउँदा नपाउँदै खाडी मुलुक नगई सुख छैन । लोकसेवा, शिक्षकसेवा कल्पना बाहिरको विषय बनेको छ । २०२९ सालमा स्थापना भएको कालिञ्चोक विद्यालयले गत वर्षमात्रै मावि तहको मान्यता पाएको छ । ‘पुरानो स्कुल भएपनि पिछडिएको समुदाय भएकै कारण सम्बन्धित ठाउँमा पहुँच नहुँदा यहाँको शैक्षिक पूर्वाधार व्यवस्थापनको पहलमा समस्या भएको देखिन्छ, विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डले भने, ‘हामी कोसिस गरिरहेका छौं, अवस्था सुधारोन्मुख छ ।’ पछिल्लो समय विद्यार्थी भर्नादर भने बढेको छ । विद्यार्थी संख्या सरदर साँढे तीन सयको हाराहारीमा छ । यद्यपी अधिकांसले बिचमै विद्यालय छाड्ने समस्या विद्यमान छ । विद्यालयमा भौतिक संरचनाको अभाव छ । पुस्तकालय, कम्प्युटर कक्षा, प्रयोगशाला, खेलकुल सामाग्री लगायत अन्य पुर्वाधारको यथोचित व्यवस्थापन हुन सकेको छैन ।
त्यसो त गाउँमा विकास नै नपुगेको चाँही होईन । तर भएका विकासले स्थानीयको जीवनमा कति सकारात्मक परिवर्तन ल्यायो भन्ने कुरा मुख्य हो । गाउँमा कच्ची सडक पुगेको छ, ठुलो जनघनत्व भएको बस्तीमा यातायात समितिले एउटासम्म बस हाल्न सकेका छैनन् । महंगो भाडा तिरेर अन्य साना सवारीमा आउजाउ गर्नुपर्दा यात्रा खर्चिलो हुनेनै भयो । केन्द्रीय प्रसारण लाईनको बिजुली बत्ती बलेको छ । तर अतिविपन्न गाउँले पनि उही शुल्क तिर्नुपरेको छ । गाउँपालिका मार्फत केही बजेटपनि पुगेको छ । मानव विकास सुचकांक र सामाजिक न्यायको दृष्टिकोणबाट हेर्दा अन्यत्र भन्दा यहाँ सरकारले सोही अनुसार नीति, योजना तथा कार्यक्रम र बजेट बनाउनुपर्ने हो तर अन्यत्र भन्दा कार्यक्रम सिमित हुन्छ ।
सात दशक लामो परिबर्तनको प्रक्रियामा सबैभन्दा बढी आँसु, रगत र पसिना बगाउने जनसमुदायले नै परिवर्तनको अनुभुती गर्न सकेका छैनन् । सामाजिक जीवनको सबै क्षेत्रमा अन्यायमा पारिएकाहरुले सामाजिक न्याय पाउन सकेनन् । असमानता र बिभेदबाट अझै छुटकारा पाउन सकेनन् । गरिबीबाट मुक्ति पाएनन् । अशिक्षाको अन्धकारमा उज्यालो दियो बल्न सकेन । बेरोजगारीको छटपटीले सँधैसँधै सताईरह्यो ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता संविधानप्रदत्त मानवअधिकारको उपभोगबाट यहाँका नागरिक अझै बञ्चित छन् । समग्रमा भन्नुपर्दा मुलुकको राजनीतिक परिवर्तनले उनीहरुको आर्थिक र सामाजिक रुपान्तरणमा तात्विक अन्तर ल्याउन सकेको छैन । महंगीले थप कष्टप्रद छ उनीहरुको जिन्दगी । वडा अध्यक्ष हिरा थामी (धनविर) भन्छन्, ‘पछाडी परेको गाउँको विकास र समृद्धिको लागि सबैको नजर पर्नुपर्ने हो, तर झन् हेप्ने÷पेल्ने काम पो भैरहेको छ, सोझासिधा जनताको लागि लोकतन्त्र आएन, समृद्धि आएन ।’
लोकतन्त्र भनेको नागरिक स्वतन्त्रता मात्रै होईन, सामाजिक न्याय, विकास र समृद्धिको आधार आधारस्तम्भ पनि हो । तर समाजमा पिछडिएका नागरिकले त्यो परिवर्तनको अनुभुति कहिले गर्ने ?