चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा शाखामा अनियमितता र बेथिति बढेको भन्दै प्रेस चौतारी दोलखाले ध्यानाकर्षण गराएको छ । महासंघको जिल्ला नेतृत्वले आर्थिक अनियमितता लगायत पदको चरम दुरुपयोग गरेको चौतारीको आरोप छ ।
महासंघमा बढेको आर्थिक अनियमितता, बेथिति लगायतका गलत क्रियाकलापबारे आईतबार प्रेस चौतारी नेपाल दोलखा शाखाले पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ भने दोलखाका प्रमुख जिल्ला अधिकारीलाई सोबारे जानकारी गराएको छ । ज्ञापनपत्र बुझाउँदै चौतारीका जिल्ला अध्यक्ष प्रभु जिरेलले तीन दिनभित्र आफ्ना मागहरु पुरा नभए महासंघमा तालाबन्दी लगायत अन्य संघर्षका कार्यक्रम गर्ने चेतावनी दिए ।
चौतारीले पत्रकार महासङ्घ बागमती प्रदेश समितिको जिरीमा सम्पन्न साधारणसभामा व्यवस्थाकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा सङ्कलित आर्थिक श्रोतको संस्थागत अभिलेख नराखी हिसाब सार्वजनिक नगरेको, पत्रकार महासङ्घको नाम जोडेर महासङ्घको बदनाम हुनेगरी अध्यक्ष चौलागाँईले विभिन्न सार्वजनिक निकायबाट व्यक्तिगत रुपमा लाभ लिएकोबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा महासंघ मार्फत कल्याणकारी कोषका लागि सञ्चालित हेल्प डेक्स्कबाट भएको आम्दानी, कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा पत्रकार महासङ्घको लोगो र बैंक खाता दुरुपयोग गरी भएको आम्दानी राजनीतिक रुपमा भागबण्डा गरेको विषयमा पनि छानविन गर्न प्रेस चौतारीले माग गरेको छ । ज्ञापन पत्रमा अध्यक्ष चौलागाई स्वयं सरकारी तलब खाने शिक्षक रहेकाले महासंघको जिम्मेवारीमा रहँदा पदिय मर्यादा उल्लंघन भएको लगायतका नैतिक प्रश्न समेत उठाईएको छ ।
१६ बुँदे ज्ञापनपत्रमा कार्यालयमा गैरकानुनी रुपमा कर्मचारी नियुक्त गरी घरेलु कामदारको रुपमा अध्यक्षले निजी काममा लगाएको, कार्यालय समयमा पनि महासङ्घको कार्यालय खुल्ला नराखेको, कार्यालयमा रहनुपर्ने कागजातहरु निजी सम्पत्तिझैं अध्यक्षको घरमा राख्ने गरेको, कार्यालय व्यवस्थित नगरिएको लगायतका आरोप पनि लगाईएको छ ।
ज्ञापनपत्र बुझ्दै महासङ्घका अध्यक्ष चौलागाँईले प्रेस चौतारीले उठाएका विषयमा कार्यसमितिको बैठक बसेर निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखासहित पत्रकार महासङ्घको बागमती प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई समेत बोधार्थ पठाईएको चौतारीका जिल्ला सचिव तारा बहादुर महतले जानकारी दिए ।