चरिकोट । दोलखाको विगु गाउँपालिकामा चितुवाले आतंक मच्चाएको छ । चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । विगु गाउँपालिका वडा नम्बर ६ र ७ मा एक साताको अन्तरालमा मात्रै १० वटा बाख्रा मारेको छ । आईतवार राती निस्किएको चितुवाले वडा नम्बर ७ मानेडाँडा स्थित अनिल दुलालको पाँच वटा बाख्रा मारेको छ ।
वडा अध्यक्ष दलबहादुर श्रेष्ठले पचास हजार भन्दा बढी मुल्य पर्ने बाख्रा चितुवाले मारको र किसानको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको बाख्रा मार्दा किसान मारमा परेको बताए । उनका अनुसार मानिसमाथि समेत वन्यजन्तुबाट आक्रमणको जोखिम बढेको छ ।
केही दिन अघि विगु गाउँपालिका वडा नम्वर ६ आलम्पुमा पनि बाघले ५ वटा बाख्रा मारेको थियो । स्थानीय चिनिमाया बिश्वकर्माको ४ वटा र इसी शेर्पाको १ वटा गरि ५ वटा बाख्रा खाएको हो । बाघले आतंक मच्याउन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । त्यसअघि पनि बासा निवासीे तारा थामी, रङ्ग बहादुर थामी र क्यार्थर निवासी मान बहादुर थामीको घरमा पनि बाघले आक्रमण गरेको थियो ।
लगातार जंगली जनवरको आक्रमण बढेपछि सम्बन्धित निकायले नियन्त्रण र क्षतिपुर्ति नपाएको किसानको गुनासो छ । उक्त ठाउँ गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्र पर्दछ । संरक्षण क्षेत्रले भने किसानहरुलाई उचित क्षतिपुर्ति उपलव्ध गराउने जनाएको छ ।