Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अबैध क्रसर बन्द गर्ने जिसस दोलखाको निर्णय नमान्ने व्यवसायीको घोषणा

चरिकोट । दोलखाका क्रसर व्यवसायीले नियम बिपरितका क्रसर बन्द गर्ने जिल्ला समन्वय समितिको निर्णय नमान्ने घोषणा गरेका छन् । जिससको निर्णय बिरुद्ध दोलखा जिल्ला क्रसर व्यवसायी संघले भोलीदेखि जिल्लाका सबै क्रसर उद्योगहरु अनिश्चिकालका लागि बन्द गर्ने जनाएको छ ।

जिसस अन्तर्गत नदीजन्य पदार्थ उत्खनन, बिक्रि वितरण तथा व्यवस्थापन अनुगमन समितिको बैठकले दोलखामा मापदण्ड बिना सञ्चालनमा रहेका क्रसर उद्योगहरु सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । क्रसर व्यवसायी संघका संयोजक सन्तोष मैनालीले जारी गरेको विज्ञप्तीमा साउन ६ गतेदेखि जिल्लाभरका सबै क्रसर बन्द गर्ने जनाईएको छ ।

सरकारले तोकेको मापदण्ड पु¥याउन नसकिने देखिन्छ, तसर्थ दोलखा जिल्ला क्रसर व्यवसायी संघको निर्णय अनुसार सम्पुर्ण क्रसर उद्योगहरु अनिश्चितकालका लागि वन्द गर्ने निर्णय भएको छ, विज्ञप्तीमा उल्लेख छ । जिससले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ८ अनुसार दर्ता र नविकरण नभएका क्रसर उद्योगहरु सञ्चालन गर्न नदिने जनाएको छ । 

औद्योगिक व्यवसाय ऐनमा कुनैपनि उद्योग दर्ता नगराई सञ्चालन गरेको पाइएमा उद्योग दर्ता गर्ने निकायको सिफारिसमा मन्त्रालयले त्यस्ता उद्योग तत्काल बन्द गराई जरिवाना गराउन सक्ने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update