Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लिखु–२ आयोजनाले सुरु गर्यो विद्युत उत्पादन

मन्थली । लिखु–२ जलविद्युत आयोजनाले विद्यूत उत्पादन सुरु गरेको छ । रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा नदी भएर बग्ने लिखुको पानी प्रयोग गरी निर्माण गरिएको आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको हो । दुगड समूहले निर्माण गरेको उक्त आयोजनाले रामेछापको उमाक्ण्डु २ ठाडोखोला नजिक रहेको पावरहाउसमा पानी खसालेर परीक्षण उत्पादन थालेको छ । 

कुल ५५ मेगावाट क्षमताको उक्त आयोजनाबाट परीक्षणको क्रममा करिव २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । आयोजनाले ५५ मेगावाट क्षमतामा नै विद्युत् उत्पादन गर्न सक्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको मन्थली नगरपालिका १३ साँखेमा रहेको सब–स्टेसनमा ट्रान्सफरमर फेर्ने काम भइरहेको छ । सो ट्रान्सफर्मर नबन्दासम्म पूर्ण क्षमतामा विद्युत् पठाउन नसकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अधिकारीहरुका अनुसार केही दिनभित्रै ट्रान्सफर्मर फेर्ने काम सकिएपछि आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेछ । आयोजनाले रामेछापको कुभुकास्थलीदेखि साँखे सबस्टेसनसम्म १ सय ३२ केभी प्रसारणलाइन मार्फत केन्द्रीय प्रसारण लाईनमा जोडिएको छ । आयोजनाबाट करिब २ सातापछि व्यावसायिक उत्पादन सुरु हुने आयोजनाका शालिकराम पौडेलले बताए । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update