चरिकोट - दोलखाका स्थानीय तहले धमाधम विद्यालयको तह समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएपनि लकडाउनका कारण कक्षा संचालन हुन नसकिरहेको समयमा स्थानीय तहहरुले विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय खारेज, घटुवा र दरबन्दी मिलान गरेका हुन् ।
जसअनुसार तामाकोसी गाउँपालिकाका ५ वटा विद्यालय खारेज गरिएको छ । गाउँपालिकाले विद्यालय तह समायोजन अन्तर्गत ५ वटा विद्यालय नयाँ शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय गरेको हो । जसमा वडा नम्बर १ भिरकोट स्थित गैयाश्वरी वाल विकास केन्द्र, वडा नम्बर ६ च्यामा स्थित शिवालय वाल विकास केन्द्र, सोही वडाको वालवाटिका प्रावि, वडा नम्बर ५ मालु स्थित जगदम्बिका प्रावि र मुक्तेश्वर प्रावि रहेका छन् ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७७, ७८ देखि लागु हुनेगरी वाल विकास केन्द्र र विद्यालय खारेज गरिएको हो । १० वटा विद्यालयलाई घटुवा र दुई वटालाई वाल विकास केन्द्रमा सिमित गरिएको छ । भिरकोट स्थित भिमेश्वर आधारभुत विद्यालय, वडा नम्बर ३ जफे स्थित चनौटे आधारभुत विद्यालय र वडा नम्बर ६ स्थित जनज्योती आधारभुत विद्यालयलाई ७ कक्षासम्म कक्षा संचालन हुनेगरी आधारभुत तह कायम गरिएको छ ।
यसैगरी जफे स्थित जागृती प्राविलाई कक्षा ४, झुले स्थित नवज्योती प्रावि, शहरेको कालिका प्रावि, जाल्पादेवी प्रावि, च्यामाको जनकल्याण प्राविलाई ३ कक्षामा कायम गरिएको छ । मालुका लट्टेश्वर प्रावि र सेतीदेवी प्राविलाई कक्षा १ मा घटुवा गरिएको छ । जफे स्थित गोगनेडाँडा प्रावि र मालुको किरातेश्वर प्राविलाई वाल विकास केन्द्रमा सिमित गरिएको छ । विद्यालय तह घटुवासँगै त्यहाँको दरबन्दी कटौती गरी अन्यत्र मिलान गरिएको गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
यसअघि बैतेश्वर गाउँपालिकाले पनि ६ वटा आधारभुत र प्राथमिक विद्यालयको तह घटुवा गर्नुका साथै शिक्षक दरबन्दी कटौती गर्ने निर्णय गरिसकेको छ ।
विद्यालय तह र शिक्षक दरबन्दी मिलान गर्न शिक्षा समितिले गठन गरेको कार्यदलको सिफारिस अनुसार यस्तो निर्णय गरिएको गाउँपालिकाहरुले जनाएका छन् । कार्यदलको सिफारिस र विद्यार्थीहरुको संख्यालाई आधार मानेर आवश्यकता र औचित्यका आधारमा यो निर्णयमा पुगिएको उनीहरुको दावी छ ।
निर्णय अघि शिक्षा समितिले सबै वडाका स्थानीय जनप्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समिति लगायत सरोकारवालाहरुसँग परामर्श गरेको बताईएको छ ।