Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको निधन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । 

प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा. शर्माले जनाएका छन् ।

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन । सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । उनको बुधवार नै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अत्यष्टि गरिएको छ । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update